Kath khabar
असक्षमताको उपमा पाउनुभएका देउवाका संभावित असफल यात्राका चार कारण

काठमाडौं, साउन १५। सरकार गठन भएको सय दिनभित्र हनीमुन पिरियड मानेर आलोचना या समिक्षा नगर्ने पश्चिमाहरुको प्रचलन प्रधानमन्त्री शेर बहादुर देउवाको हकमा लागु हुन सक्दैन । पहिलोपल्ट विवाह बन्धनमा बाँधिएका जोडीको जस्तो माया प्रेम, उत्साह र उमङ्ग दोहोर्‍याएर तेहेर्‍याएर विवाह गर्नेको जोडीमा हुँदैन । शेर बहादुर देउवा यो देशमा सांसद, मन्त्री, प्रतिपक्ष दलको नेता र प्रधानमन्त्रीको भूमिकामा पटक पटक अवसर पाएको व्यक्ति हुनुहुन्छ । देउवाले आफ्नो दृष्टिकोण, विचार र श्रृजनशिलता लागु गर्ने अवसर यो भन्दा पहिले नै प्राप्त गरी सक्नुभएको छ । देउवाको समिक्षा गर्न सय दिन कुर्न आवश्यक नै छैन किनकी उहाँको क्षमता, इमान्दारिता र दुरदर्शिता देशले यसअघि नै देखिसकेको छ ।

अहिलेको सरकार जनताको चाहना अनुसार गठन भएको  होइन। विगठित नेपाल कम्युनिस्ट पार्टि भित्र भएको सत्ता संघर्षको लाभ शेर बहादुर देउवाले पाउनुभएको हो । के पी शर्मा ओली, माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको आकांक्षा नेकपाले समाल्न नसकी पोखिदा सत्ताको बागडोर देउवाको हातमा गएको छ । स्वयं देउवा नै सत्तायात्राको लागि उत्सुक हुनुहुन्थेन भन्ने कुरा पहिलो पल्ट संसद विघटन हुँदा उहाँले गरेको व्यवहार तथा अभिब्यक्तिले प्रस्ट पार्दछ । नेपाली कांग्रेस र देउवाका लागि अहिले प्राप्त सत्ता भोक नलागेको बेला सत्कारपूर्वक दिएको मिठो भोजन जस्तै भएको छ जसलाई न अस्विकार गर्न सकिन्छ न त खाएर पचाउन सकिन्छ ।

कम्युनिष्ट कति गल्ती गर्दछन् भनी गन्दै बसेको कांग्रेस जसले आफ्नो सबल पक्ष देखाएर होइनकी अरुको दुर्बलता प्रचार गरी आगामी चुनाबलाई प्रभाव पार्ने योजनामा मग्न थियो । कम्युनिष्टको असफलतामा आफ्नो सफलता देखेको कांग्रेसलाई अपरझट आइपरेको सत्ताको बागडोरले खल्बलाएको छ ।

पाँच वर्षमा कम्युनिष्टले देश बर्बाद पारे भन्दै भाषण गर्ने रणनिती बनाएको कांग्रेसलाई आगामी डेढ वर्षको उपलब्धी देखाएर भोट माग्नुपर्ने बाध्यता छ । सकारात्मक भन्दा नकरात्मक कुरा छिटो प्रवाह हुने नेपाली समाजमा के पी शर्मा ओलीले गराएको चुनाबमा भन्दा देउवाको नेतृत्वमा भएको चुनाब नेपाली कांग्रेसलाई महङ्गो पर्ने निश्चित छ ।

राजनितिका चतुर खेलाडी शेर बहादुर देउवालाई छोटो समयको सरकारको यात्राले नोक्सान पुर्याउछ भन्ने जानकारी नभएको होइन । उहाँले त पहिलोपल्ट विघटन भएको संसदलाई अप्रत्यक्ष समर्थन गर्नुभएको नै हो । उहाँले कांग्रेस कार्यकर्तालाई चुनावको तयारी गर्न तथा माधव कुमार नेपाल, रामचन्द्र पौडेल र पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्न अग्रसरता देखाउन गरेको अनुरोधलाई नजरअन्दाज गर्नुभएकै हो । बास्तबमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा देउवालाई पठाइ असफल पार्ने तथा माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको जसरी भए पनि ओलीलाई सत्ताच्यूत गर्ने प्रपञ्चका कारण शेर बहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ ।

कतिपयले गिरिजा प्रसाद कोइरालालाई जिवनको उत्तरार्धमा सफलता प्राप्त गर्नुभएकोले देउवालाई त्यस्तै अवसर मिलेको विश्लेषण गरेका छन् । गिरीजा प्रसाद कोइराला २०४६ सालको जनआन्दोलनपछि स्थापित भइै नेपाली राजनितिमा गणतन्त्रको स्थापनासम्म देशको केन्द्रविन्दुमा रहनुभयो । भ्रस्टाचार, परिवारवाद, फाँसीबाद जस्ता अनेक आरोपबाट आरोपित गिरिजा प्रसाद कोइराला माओबादीलाई शान्ती प्रक्रियामा ल्याएर संविधान सभाको चुनाव गराइ नेपालबाट राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना गराउन सफल हुनुभएको थियो । देउवालाई गिरीजा प्रसाद जस्तै विगतका मैलो पखाल्ने अवसर प्राप्त भएको विश्लेषण भएपनि राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेसले उहाँलाई सफलता प्राप्त गर्न सजिलो छैन । देउवा सरकारको कुर्चीको चार खुट्टा नै उहाँका प्रतिकुल भएको हुँदा सफलता असंभव देखिएको हो । उहाँका सम्भावित असफलताका चार कारणहरुलाई यसरी सुत्रबद्ध विश्लेषण गर्न सकिन्छ ।

१. नेपाली कांग्रेस प्रधानमन्त्री शेर बहादुर देउवालाई उहाँकै पार्टि अनुकुलतामा छैन । २०६२ र ६३ सालको जनआन्दोलनताका गिरीजा प्रसाद कोइरालालाई नेपाली कांग्रेस पार्टिभित्र त कुरै छाडौँ एमाले र माओवादीका नेताले समेत उहाँका अगाडि डटेर कुरा गर्न सक्दैनथे । उहाँको नेतृत्वको रापताप कति थियो भने जनआन्दोलनपछि भारत जादाँ भारतका तत्कालीन प्रधानमन्त्री मनोमोहन सिँह आफै विमानस्थलमा आई चीन र अमेरिकाका रास्ट्रपतिलाई जस्तै भव्य स्वागत गर्दै एशियाकै अग्ला नेता भन्नुभएको थियो ।

आगामी भाद्रमा नेपाली कांग्रेसको महाधिवेसन तोकिएको छ । सत्तासिन भएको नाताबाट एकाध महिना महाधिवेसन सारेपनि आगामी संसदिय चुनाबभन्दा अगाडि महाधिवेसन गर्नै पर्दछ । आगामी महाधिवेसनबाट देउवा नेपाली कांग्रेसको सभापतिमा दोहरिने चाहना सार्वजनिक गरिसक्नु भएको छ । सभापति नहुँदा राजनितिबाट विश्राम लिनुपर्ने र दोहोरिदा कांग्रेसका आधा दर्जन भन्दा बढी आँकाक्षीलाई ब्यवस्थापन गर्नुपर्ने बाध्यतामा देउवा हुनुहुन्छ ।

आफ्नो समुहभित्र गत महाधिवेसनमा सर्वसम्मत उम्मेदवार हुनुभएको देउवालाई यसपालि आफ्नै गुटबाट उपसभापति विमलेन्द्र निधिले चुनौती दिइसक्नुभएको छ । सभापतिको आकांक्षा राख्नेको आगामी चुनावबाट निर्वाचित भएर प्रधानमन्त्री हुने सपना नहुने कुरै भएन । तानतुन पारेर सभापति भइहालेमा उहाँका प्रतिद्धन्दीहरु उहाँलाई सरकारमा असफल पारेर आगामी चुनावपछि गठन हुने सरकारमा जान नदिन कम्मर कसेर लाग्ने छन् । उहाँलाई असफल पार्ने खेल पार्टिभित्रबाट खेलिने भएको हुँदा यो सरकारले जनसरोकारका विषयमा प्रभावकारी काम गर्न सक्ने संभावना एकदमै कम छ । बाहिरी प्रहार यथाबत रहेको अवस्थामा पार्टिभित्रकै प्रहारलाई निस्तेज पार्न उहाँलाई मुस्किल छ । आन्तरिक रुपमा बलियो नभए विगतका कांग्रेसका सरकार र ओली सरकार पार्टिभित्रकै किचलोका कारण असफल भएको उदाहरण काफी छ । आन्तरिक रुपमा कमजोर नेताले साहसिक कदम चाल्न नसक्ने हुँदा देउवाले नेपाली जनताका समस्या हल गरी स्वर्णिम इतिहास रच्न कठिन छ ।

२. मधेसबादी दल मधेसवादी दल र कांग्रेस दुवैको भोट बैंंक तराई नै हो । सहयात्रासँगै प्रतिस्पर्धा पनि भएकोले आगामी चुनावलाई मध्यनजर राख्दै कांग्रेस नेतृत्वलाई स्थापित हुन मधेसवादी दलले दिदैँन । शक्ति र सत्ताका लागि जे पनि गर्न सक्ने भनि चिनिएका मधेसवादी दलका कारण सरकार लोकप्रिय हुन सक्दैन । सुशासन दिन तथा राष्ट्रियता बलियो बनाउन मधेसवादी दलका कारण देउवालाई सजिलो छैन । तराईका जनताका मनोभावना भड्काएर चुनाब जित्दै सत्तामा रमाउने मधेसबादी दलका अराजनैतिक कदमका असर कांग्रेसलाई अवश्य पर्नेछ । नागरिकता विधेयक पास गर्नुपर्ने, अदालतले दोषी ठहर गरी जेल चलान गरेका रेसम चौधरीलाई रिहा गर्नुपर्ने जस्ता तमाम मागहरुलाई संवोधन गर्नुपर्ने देउवालाई बाध्यता छ । राष्ट्रघाति नागरिकता विधेयक अगाडि बढाउदा सरकार आलोचित हुन्छ नै साथै रेसम चौधरीलाई रिहा गर्दा कानुनीराजमा समेत दुरगामी असर पर्दछ । मधेसवादी दल विना वर्तमान सरकारको कल्पना गर्न समेत सकिदैँन । भारतमुखी, तराइका जमिन्दार तथा सेन्टीमेन्टका आधारमा राजनैतिक गतिविधि गर्ने गर्ने त्यस्ता दलका नेताका कारण देश नै अप्ठेरोमा परिरहेको हुँदा यो सत्तायात्रा देउवाका लागि बदनामी पाउने अर्को समय हुने निश्चित छ ।

३. पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको गठबन्धन दाहाल र नेपालको उद्देश्य कांग्रेस नेतृत्वमा सरकार गठन गरी देशमा सुसाशन तथा विकास ल्याउने होइन । पार्टिभित्र के पी शर्मा ओलीले पावर सेयरिङ नगरी एक्लै पार्टि र सरकार चलाउँदा अपमानित महसुुस गरी जसरी भएपनि ओलीलाई पार्टिबाट र सरकारबाट हटाउने एक सुत्रिय उद्देश्यका कारण देउवालाई समथर्न गरिएको हो । देउवासँगको सहयात्रा दाहाल र नेपाललाई एकछिन चौतारामा सुस्ताउने प्रवन्ध मात्र हो । आफ्नै सहकर्मीलाई पाँच वर्ष सत्ता सञ्चालन गर्न नदिने यि नेताले देउवालाई सजिलै काम गर्न दिने संभावना छैन । प्रचण्डले बारबार उच्च स्तरिय राजनैतिक समिति माग गरिरहनुभएको छ जसको उद्देश्य देशको कार्यकारी प्रमुखलाई नियन्त्रण गर्नु हो । जब देशकै कार्यकारी प्रमुखले स-साना कुरामा समेत अनुमति लिनुपर्दछ त्यस्तो प्रधानमन्त्रीबाट फटाफट निर्णय लिएर देश चल्न सक्दैन ।

दाहाल र नेपालको अहिलेको रणनिति ओलीलाई कमजोर पार्नु हो । उहाँहरु प्रथमत एमालेमा माधव नेपालको बहुमत पुराउने खेल खेल्नुभएको छ । माओवादीसँगको एकता अगाडिको एमालेमा माधव कुमार नेपाल र के पी शर्मा ओलीको प्रभाव बरावरी जस्तै थियो वा झिनो बहुमत ओलीको पक्षमा थियो । त्यही केन्द्रिय समिति ब्युताएर सत्ताको प्रभावमा बहुमत पुर्याउने योजना उहाँहरुमा भएको प्रष्ट देखिन्छ । संसदीय दल र पार्टिमा बहमत नभए चालिस प्रतिशत पुर्याउनेमा उहाँहरु ढुक्क देखिनुभएको छ । सके बैधानिक रुपमा सिङ्गो एमाले नभए ठुलो पंक्ति फुटाएर नयाँ शक्ति बनाएर चुनावमा जाने दाहाल र नेपालको रणनिति प्रष्ट छ । एक दुई महिनामा नै यो काम सकेर ब्यापक संगठन निर्माण गरी जनतामा स्थापित हुने सपना देख्नुभएका दाहाल र नेपालको प्रहार अब कांग्रेस र देउवामाथि नै हुनेछ । कमजोर भएका ओलीलाई सधै आलोचना गरेर उहाँहरुको राजनैतिक अभिस्ट पुरा हुँदैन ।

४. अन्तर्राष्ट्रिय शक्ति प्रधानमन्त्री सपथ नहुँदै अग्रिम बधाइ दिने छिमेकीका समकक्षीले यसपालि ढिलो तथा औपचारिकतावस प्रधानमन्त्री देउवालाई शुभकामना दिएको देखिन्छ । उत्तरी छिमेकी चीनले ओली वा नेकपा कै अरु कोही प्रधानमन्त्री बन्न जोड दिएको सार्वजनिक नै छ । साथै भारत पनि शुरुमा ओलीसँग रुस्ट देखिपनि पछिल्लो समय ओलीबाटै उसका सरोकार संबोधन हुनेमा ढुक्क थियो ।

विगतमा चीनसँग चिसो सम्बन्ध भएका तथा अमेरिकी परियोजना एम सी सी संसदबाट पारित गराउन प्रतिबद्ध देउवासँग चीन  सशंंकित छ । पश्चिमा देशहरु अमेरिका र यूरोपिय देशप्रति नजिक भएको आरोप लागेका देउवा प्रधानमन्त्री हुँदा भारत न खुसी न दुःखीको अवस्थामा देखिन्छ । एम सी सी परियोजना पास नगरे पश्चिमा शक्ति भड्किने अगाडि बढाए देशभित्र सशक्त प्रतिरोध हुने हुँदा देउवा दुवै प्रकारले असफल हुने संभावना छ ।

संसारकै महाशक्ति बन्ने आकांक्षा पालेको चीनलाई अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनिति अन्र्तगतको परियोजना नेपालमा लागु हुने कुरा सैह्य हुनेछैन । साथै आफ्नो पुरा प्रभाव रहेको नेपालमा अमेरिकी प्रभाव विस्तार हुने कुरा भारतलाई पनि पाच्य छैन । तसर्थ संसारमै तिब्र प्रतिस्पर्धा गरिरहेका अमेरिका र चीन को दबाब नेपाललाई महङ्गो पर्नेछ । देउवाले विगतमा जस्तै शक्ति केन्द्रलाई सन्तुलित राख्न सक्नुभएन भने उहाँलाईमात्र होइन सिङ्गै देश अफ्ठेरोमा पर्नेछ ।

सत्ताबाट गलहत्याइएका केपी शर्मा ओलीको साथ देउवाले नपाउने त सामान्य नै हो । संक्षेपमा देउवा ‘भुतले खाजा खाने समय’मा प्रधानमन्त्री बन्नु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशले देउवाको कार्यकालमा नेपाल र नेपाली जनताको हितमा काम हुने न्युन मात्रै  संभावना छ । त्यसैले देउवाले कलङ्कित नभइ सत्तायात्रा टुङ्गाउने उपाय भनेको ओलीको जस्तै अर्लि इलेक्सन हो । पार्टिभित्रको समस्या, गठबन्धनका सहयात्रीका अनेक स्वार्थ पुरा गर्नुपर्ने बाध्यता र अन्तर्राष्ट्रिय परिवेस देउवाका खिलापमा भएको हुँदा काम गरेर स्वर्णिम इतिहास रच्ने सपना देख्नुभन्दा पार्टिको महाधिवेसन र देशमा संसदिय चुनावमा छिटो गराई सहज राजनैतिक विश्राम लिँदा यसमा नै देउवाको हित हुने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update