काठमाडौं, कात्तिक २१ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज ब्रह्माको मन्दिर समुद्घाटन गरेका छन् ।
उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख शाहले महानगरपालिकाको वडा नम्बर ८ जयवागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिरको शिलालेख अनावरण गर्दै समुद्घाटन गरेका हुन् । त्यसै क्रममा संगतले, मन्दिर प्रवेश द्वारको रिवन काटेका थिए ।
मन्दिर समुद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले, प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृतिक, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनस्थापित गर्न लागिरहेको बताए । मूर्ति राख्ने प्रसङ्गमा उनले भने, ‘जहाँ मूर्तिको पूजा हुन्छ । मूर्तिलाई त्यहीँ राख्नुपर्छ । यसलाई हामीले अभियानका रुपमा अगाडि बढाएका छौँ ।’
यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो । ‘अध्ययनबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएर पुननिर्माण गरिएको हो,’ संगतले बताए ।
मन्दिरको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो । चतुर्मुख ब्रह्माको यो मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार कार्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गराइएको हो । करिब २०३६ सालतिर यो मूर्ति चोरिएको थियो । चोरेर लैजाने क्रममा टाढा पु¥याउन नसकेपछि चोरले छोडेर भोगेका थिए । त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको थियो ।
पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत शुशिलकुमार गौत्तमले यस मूर्तिको विशेषताका बारेमा जानकारी दिँदै भने, ‘मूर्तिमा ४ वटा टाउका छन् । छातीतर्फको टाउकोले पश्चिम हेरेको छ । एउटा हातमा कमण्डलु र अर्को हातमा रुद्राक्षको माला बोकेको छ । २ वटा टाउका काँध माथि छन् भने एउटा टाउको पछाडिपट्टि छ । यसकारण यो मूर्ति ब्रह्माको हो ।’ पछिल्लो समयमा यो मूर्ति कसको हो भन्ने विषयमा सामाजिक सञ्जालमा चलेको चर्चाका विषयमा कुरा गर्दै गौत्तम भन्छन्, ‘मूर्ति ब्रह्मासनमा छ । यो ब्रह्माको आसन हो । नेपालमा ब्रह्माका २ वटा मूर्ति छन् । एउटा यही हो । अर्को चापागाउँमा छ । यहाँका विषयमा अभिलेख प्राप्त हुन सकेको छैन । चापागाउँमा रहेको मूर्तिसँग कुवेर गुप्त र आनिक गूप्तले निर्माण गराएको उल्लेख छ ।’

