
काठमाडौ, बैशाख ७ । बिशेष गरेर स्टेज कार्यक्रमहरुलाई आफ्नो बर्चस्व स्थापित गर्न सफल लोक दोहोरी गायिका सुनिता दुलालको अर्को नयाँ गीत “हुुन्न कसैको” भर्खरै बजारमा आएको छ । नयाँ वर्षको शुभकामना सहित सार्बजनिक गरिएको यो गीतकी गायिका एवं प्रस्तुतकर्ता सुनिताको यस अघिपनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् ।
उहाँ ब्यवसायिकताको नाममा नेपाली लोक तथा दोहोरी गीत संगीतमा बिकृति देख्न चाहानुहुन्न । फलस्वरूप यो गीतमा पनि आफ्नो जाहन परिवार छोडेर बाध्यतावस लाहुर जान परेका आम नेपालीहरुको कथा ब्यथालाई समेटिएको छ । सामाजिक यथार्थतालाई प्रस्ट्याउन खोजिएको यो गीतमा दिनेश परियार र सुनिता दुलालको सुमधुर स्वर सुन्न सकिन्छ । “हुुन्न कसैको” बोलको गीतलाई लय, शब्द तथा संगीत संयोजन गायक स्वयम् दिनेश परियारको रहेको छ । यो गीतको म्युजिक भिडियोमा अर्जुन गौतम र आलिशा बास्तोलाको अभिनय देख्न सकिन्छ । यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई, कमला बस्नेत, समिक्षा भुजेल लगायतको पनि यो गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ ।
भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् भने छायांकन सुजन श्रेष्ठले गर्नुभएको हो । यो गीतको म्युजिक भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाँकन गरिएको छ । भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ । गीतको अडियो तथा भिडियोलाई गायिका सुनिता दुलालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।