काठमाडौं, वैशाख १७ । नागरिक उन्मुक्ति र जनमत पार्टीबीच आज पार्टी एकता हुने भएको छ । तराई-मधेसका दुई प्रमुख राजनीतिक शक्तिले छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठकमार्फत एकताको निर्णय गरेपछि आज आधिकारिक रूपमा एकीकरण घोषणा गरिन लागिएको हो ।
आज (बुधबार) काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हलमा आयोजित एक विशेष कार्यक्रममा एकीकरणको औपचारिक घोषणा गरिनेछ । कार्यक्रममा शीर्ष नेताहरू, पार्टी सदस्यहरू र दुवै दलका सबै तहका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।
एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ हुनेछ । डा. सीके राउत कार्यकारी अध्यक्षको रूपमा काम गर्नेछन् भने रेशम चौधरी प्रमुख संरक्षक हुनेछन् र रञ्जिता श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गर्ने सहमति भएको छ । एकतापछि संघीय संसदमा जनमतका ६ र नागरिक उन्मुक्तिका ४ गरेर नाजपाको १० सिट हुनेछ । चुनाव चिह्न भने हालको नाउपाको चुनाव चिह्न ढकिया राख्ने सहमति भएको छ ।