
काठमाडौं, वैशाख १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुने जानकारी दिएको छ । बाेर्डले एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा वैशाख २१ देखि जेठ २ सम्म तालिका अनुसार नै सञ्चालन हुने प्रष्ट पारेको हो ।
यसअघि वैशाख ११ देखिका लागि तय भएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण वैशाख २१ गतेका लागि सरेको थियो । बोर्डले परीक्षा व्यवस्थापनका लागि आवश्यक सबै तयारी पूरा भएको घोषणा गरेको छ । परीक्षा पहिले तोकिएका केन्द्रहरूमा हुनेछ। परीक्षा सहज रूपमा सञ्चालन गर्न बोर्डले केन्द्र प्रमुखहरू, शिक्षकहरू, प्रशासनिक कर्मचारीहरू, सुरक्षाकर्मीहरू, अभिभावकहरू, मिडिया प्रतिनिधिहरू र सबै सरोकारवालाहरूबाट पूर्ण सहयोगको लागि अनुरोध गरेको छ।
बोर्डले यसअघि अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरेर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै अनधिकृत स्रोतहरूमा भ्रममा नपर्न आग्रह गरेको छ । बोर्डले कुनै पनि आधिकारिक फेसबुक पेज सञ्चालन नगर्ने र सबै प्रमाणित सूचनाहरू र जानकारीहरू यसको आधिकारिक वेबसाइट मार्फत मात्र प्रकाशित हुने कुरा स्पष्ट पारेको छ।