Kath Khabar
दिल्लीमा भएको भारी वर्षाका कारण घर भत्किँदा ४ जनाको मृत्यु, १०० भन्दा बढी उडान अवरुद्ध

                     दिल्ली, वैशाख १९ । भारतको दिल्ली एनसीआरमा शुक्रबार बिहान भारी वर्षा भएको छ। आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको छ। भारी वर्षापछि दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको हो।

शुक्रबार बिहान सबेरै ६० देखि ८० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले दिल्ली-एनसीआरको मौसममा परिवर्तन ल्याएको छ। शुक्रबार दिल्ली मात्र नभई हरियाणा, चण्डीगढ र पश्चिमी उत्तर प्रदेशका केही भागहरूमा पनि भारी वर्षा भएकाे छ ।  तीव्र हावाका कारण धेरै रूखहरू सडकमा ढलेका छन्।

बिहान ५:३० देखि ५:५० बजेको बीचमा, प्रगति मैदानमा ७८ किलोमिटर प्रतिघण्टाको गतिमा सबैभन्दा बलियो हावा चलेको रेकर्ड गरिएको थियो। राजधानीका अन्य भागहरूमा पनि तीव्र हावा चलेको देखियो, जसमा इग्नूले ५२ किलोमिटर प्रतिघण्टा, नजफगढले ५६ किलोमिटर प्रतिघण्टा र लोधी रोड र पितामपुरा दुवैमा ५९ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो।

वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । समाचार संस्था पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडान डाइभर्ट गरिएको छ भने १०० भन्दा बढी उडानमा ढिलाइ भएका छन् । दिल्ली विमानस्थल प्राधिकरणले १०० भन्दा बढी उडानहरू डाइभर्ट गरेको जानकारी दिएको छ। एक अधिकारीले पीटीआईलाई बताएअनुसार दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडान जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको थियो ।


 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update