भक्तपुर, वैशाख २१ । वर्षाका कारण भक्तपुरको सूर्यविनायक-साँगा सडकमा एकतर्फी सवारी साधन सञ्चालन भएको छ ।
गए रातिदेखि निरन्तर परेको वर्षाले आवतजावतमा समस्या भएपछि सूर्यविनायक-जगातीदेखि काभ्रेपलाञ्चोकतर्फको निर्माणाधीन सडकमा एकतर्फी आवागमनमा प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रदीप खत्रीले बताए । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ ।
एकतर्फी सवारी सञ्चालन भएपछि भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातीबाट च्याम्हासिंह हुँदै ताथली–नाला सडक हुँदै बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको प्रहरीले जनाएकाे छ ।
भक्तपुर र काभ्रेलाई जोड्ने राजमार्गलाई छ लेनको सडकमा विस्तार गर्ने कार्य भइरहेको छ । निर्माणमा ढिलाइका कारणले वर्षाको समयमा सूर्यविनायक-साँगा खण्डलाई विशेष गरी जोखिममा पार्ने गरेको छ ।