Kath Khabar
भारतद्वारा पाकिस्तानमा क्षेप्यास्त्र हमला, पाकिस्तान सरकारको आक्रोशपूर्ण प्रतिक्रिया


                          पाकिस्तान, वैशाख २३ । भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ।

भारतको रक्षा मन्त्रालयका अनुसार 'अपरेशन सिन्दूर' नाम दिइएको उक्त कारबाही एप्रिल २२ मा २५ जना भारतीय र एक नेपाली नागरिक मारिएको घटनाका जिम्मेवारहरूलाई "जबाफदेह" बनाउने "प्रतिबद्धता"को हिस्सा हो। गत महिना भएको उक्त पहलगाम आक्रमणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको पाकिस्तानले भारतले अहिले गरेको आक्रमणलाई "अकारण" भनेको छ र प्रधानमन्त्री शेहबाज शरिफले उक्त "दुष्टतापूर्ण आक्रमण"को बदला लिइने बताएका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ताले भारतले गरेको हमलामा परेर २६ जना सर्वसाधारणको मृत्यु हुनुका साथै ४६ जना घाइते भएको बताएका छन् । पाकिस्तानको पञ्जाब प्रान्तको मुरिद्केका बासिन्दा मुहम्मद युनिस शाहले भारतले प्रहार गरेका चार क्षेप्यास्त्र एक शैक्षिक संरचनामा खसेको बताएका छन्। पहिलो तीन क्षेप्यास्त्र एकपछि अर्को गर्दे खसेको र चौथो चाहिँ पाँच-सात मिनेटको अन्तरालपछि खसेको उनले बताए।

दिल्लीका अनुसार बुधवार सबेरै पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा नौवटा भिन्न स्थानमा हमला गरिएको छ। ती स्थानमा "आतङ्कवादी संरचनाहरू" भएका र त्यहाँबाट भारतविरुद्धका हमला "नियोजित र निर्देशित" भएको उसको दाबी छ।

उसले पाकिस्तानी सेनाको कुनै संरचनामा प्रहार नगरिएको जोड दिँदै आफ्नो कारबाही "केन्द्रित, अनुपातपूर्ण अनि थप आक्रमण नउक्साउने गरी" भएको जनाएको छ। स्कूल, कलेज, होस्टल तथा मेडिकल कम्प्लेक्स समेत रहेको उक्त परिसरमा आंशिक क्षति पुगेको छ। शाहले त्यहाँ आवासीय क्षेत्र पनि रहेको र केही परिवार त्यहाँ बस्ने गरेको बताए। उनका अनुसार त्यहाँ उद्धारकर्मी, अग्नि नियन्त्रक तथा प्रहरी पुगेको र मानिसहरूमा त्रास व्याप्त रहेको छ। 'सबै मानिसहरूलाई अन्य सुरक्षित ठाउँमा लगिएको छ,' उनले भने।

भारतले गरेको क्षेप्यास्त्र आक्रमणबारे प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले त्यसलाई 'कायरतापूर्ण' को सङ्ज्ञा दिएका छन्। एउटा विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले बदला लिने पनि बताएका छन्। (स्राेतः बीबीसी नेपाली)

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update