
काठमाडौं, जेठ १ । मेक्सिकोको जलिस्को राज्यमा सोशल मिडिया प्लेटफर्म टिकटकमा लाइभस्ट्रिम गर्दै गर्दा एक सोशल मिडिया इन्फ्लुएन्सरको गोली हानी हत्या गरिएको छ।
२३ वर्षीया मोडल तथा इन्फ्लुएन्सर वेलेरिया मार्केज मंगलबार जापोपनमा रहेको आफ्नो ब्युटी सैलुनमा थिइन् । त्यसैबेला एक व्यक्ति भित्र पसेर उनलाई एकचोटि छातीमा र अर्कोचोटि टाउकोमा गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
हत्यारा मोटरसाइकलमा आएका थिए र गिफ्ट दिने बहानामा सैलुनभित्र प्रवेश गरेका थिए । घटना भएकाे समयमा मार्केज आफ्नो सैलुनबाट लाइभ स्ट्रिमिङ गरिरहेकी थिइन् । यस घटनाको एक फुटेज सामाजिक सञ्जालमा सेयर गरिएको छ । त्यस फुटेजमा उनी लाइभमा आफ्ना फलोअर्ससँग कुरा गरिरहेकी देखिन्छन् । गोली चल्नुभन्दा केही सेकेन्ड अघि, उनलाई भनिरहेको सुनिन्छ - 'उनीहरू आइरहेका छन्' ।
केहीबेरपछि पृष्ठभूमिमा गोलीको आवाज सुनिन्छ । मार्केजले आफ्नो छाती समातिरहेकी देखिन्छिन् र त्यसपछि टेबलमा लड्छिन् । एक व्यक्तिले उनको फोन उठाएको देखिन्छ र भिडियो समाप्त हुनु अघि लाइभस्ट्रिममा केही क्षण उनको अनुहार देखिन्छ ।
मार्केजका इन्स्टाग्राम र टिकटकमा करिब दुई लाख फलोअर्स थिए । उनी सौन्दर्य र जीवनशैली सम्बन्धी भिडियो क्लिपहरू सेयर गर्ने गर्थिन् । मार्केजको हत्या सम्बन्धी अनुसन्धान 'फेमिसाइड' (महिला हत्या) को प्रोटोकल अनुसार भइरहेको प्रहरीले जनाएको छ । जसको अर्थ लिंगका आधारमा महिलाहरू वा किशोरीहरूको हत्या गर्नु हो ।
संयुक्त राष्ट्रसंघीय आर्थिक आयोगका पछिल्ला तथ्यांक अनुसार, मेक्सिको हाल प्यारा्ग्वे, उरुग्वे र बोलिभियासँगै ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका महिलामाथि सबैभन्दा बढी हत्या हुने देशहरूको चौथो स्थानमा पर्छ। उक्त घटनासँग जोडिएको सन्दिग्धको नाम हालसम्म खुलाइएको छैन ।