Kath Khabar
जुवातास खेलिरहेको अवस्थामा जयबागेश्वरी सहित विभिन्न स्थानबाट ३२ जना पक्राउ

                     काठमाडौं, जेठ ४ ।  काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगत समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने दोलखा भिमेश्वर नगरपालिका-७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ  र ९ बुक तास सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बजारस्थित पर्वत होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ४० वर्षीय केशव राज जोशी समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ८ सय ३५ रूपैयाँ सहित पक्राउ गरेको हो ।

तनहुँ, व्यास नगरपालिका-११ रानीगाउँस्थित बिष्णु पौडेलले संचालन गरेको साथीभाई कटेजबाट जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update