काठमाडौं, जेठ २८ । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा आपूर्ति गरिएको खानेपानीमा कोलिफर्म भेटिएको छ । कोलिफर्म पत्ता लागेपछि महानगरले पानी आपूर्तिकर्ता सीएन इन्टरप्राइजेजलाई रु. २००,००० जरिवाना गर्नुका साथै खानेपानी आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको छ ।
महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सी. एन. इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ । पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’
सोमबार विभागले आपूर्तिकर्तालाई पत्र पठाएको हो । पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिन थालिएको थियो । अब कम्पनीसँगको सम्झौता आधिकारिक रूपमा समाप्त भएको छ।