
अहमदाबाद , जेठ ३० । भारतमा एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानको ठक्करबाट २४ जनाको ज्यान गएको छ ।
अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको फ्लाइट बिहीबार दिउँसो दुर्घटनाग्रस्त भएको हो। विमानमा सवार २४१ यात्रु र चालक दलका सदस्यहरूको पनि मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनापछि उक्त विमान नजिकैको मेडिकल कलेजको होस्टलमा खसेको थियो, जसको कारण थप २४ जनाको मृत्यु भएको छ।
अस्पतालमा आएका सबै शवहरू अत्यन्तै जलेका छन्। उनीहरूको पहिचान गर्न निकै गाह्रो भइरहेको छ। कतिपय शवका अङ्गहरू छुट्टाछुट्टै छन्, केही जलेका छन् भने केही चुँडिएका छन्। ती सबै शवहरूलाई जोडेर गनिँदा संख्या २६५ पुगेको हो।
"यीमध्ये २४४ जना यात्रु र चालक दल विमानमा सवार थिए। तीमध्ये एक जना मात्र यात्रु जीवित छन्। २४१ जना यात्रुहरूमध्ये सायद कोही पनि बाँचेका छैनन्। जब यो दुर्घटना भयो, त्यसबेला एयरपोर्ट नजिकैको मेडिकल कलेजको होस्टलमा लन्च टाइम चलिरहेको थियो र धेरैजसो मानिस मेसमा थिए। त्यसै समयमा विमान सो होस्टलको संरचनामा खसेको थियो, जसको मलबामा च्यापिएर धेरैजसो डाक्टरहरूको पनि मृत्यु भएको हो। २६५ जनाको मृत्यु भएको जानकारी उक्त क्षेत्रका डीसीपीले दिएका छन्, यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन।" (ABP)