
काठमाडौं, जेठ ३० । इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ भने इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला 'अपरेशन राइजिङ लाइअन' नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरेलको "अस्तित्वको लागि" खतरा भएको बताएका छन्।
उनले "आवश्यकता रहेसम्म आक्रमण जारी राख्ने" बताउँदै इजरेलको हमलाले "इरानको परमाणु प्रशोधन कार्यक्रमको मुटुमा नै प्रहार गरेको" पनि बताए। इजरेलले जबाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ।
इरानको रिभोलुशनरी गार्डस्को मुख्यालयमा इजरेली हमला भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। स्थानीय मिडियाले पनि त्यहाँ आगो लागेको र धुवाँ आइरहेको जनाएका छन्।
इजरेली हमलामा इरानको रिभोलुशनरी गार्डस्का प्रमुख होसेन सलामी मारिएको पनि इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ।
इजरेली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा उनी पनि एक छन्। परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख फेरेडुन अब्बासी पनि मारिएको बताइएको छ। इजरेली डिफेन्स फोर्सेज् (आईडिएफ)ले आफूले 'इरानले हमला गर्नुभन्दा अगावै, लक्षित एवं संयोजित' आक्रमण गरेको बताएको छ।
इरानी सरकारी सञ्चार माध्यमले इजरेलले तेहरान तथा अन्य सहरहरूका आवासीय क्षेत्रहरूमा हमला गरेको जनाएको छ। इरानको सरकारी टिभीलाई उद्धृत गर्दै रोएटर्सले उक्त हमलामा बालबालिकाहरूको पनि ज्यान गएको जनाएको छ। इरानमा स्थानीय समय बिहान ४ बजे लगत्तै राजधानी तेहरानमा विस्फोटका आवाजहरू सुनिएका थिए।
त्यसको केही क्षणमा इजरेली रक्षामन्त्रीले आफूहरूले इरानमा हमला गरेको पुष्टि गर्दै अब निकट भविष्यमा इरानले जवाफी हमला गर्ने अपेक्षाका साथ देशमा सङ्कटकाल लगाएको बताए। इजरेलमा मानिसहरू – जेरुसलेमस्थित बीबीसी संवाददातासमेत – लाई बिहानै हवाई हमलाको चेतावनी 'एअर रेड साइरनको आवाजले बिउँझायो अनि मानिसहरूको फोनमा आपत्कालीन सन्देशहरू प्रवाह भए।
एकजना इजरेली सैन्य अधिकारीले 'इरानको परमाणु कार्यक्रम तथा अन्य सैन्य निसानाहरू'मा कैयन् प्रहार गरिएको बताए। इरानसँग 'केही दिनभित्रै' परमाणु बम बनाउन सकिने गरी पर्याप्त परमाणु सामग्री रहेको उनले बताए।
उडान अनुगमन गर्ने फ्लाइटरेडार२४ का अनुसार तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडानहरू स्थगन गरिएका छन् भने इजरेलको तेल अभिभतर्फका उडानहरू अन्यत्रै मोडिएका छन्। अमेरिकाले इजरेली कारबाहीहरूमा आफू सामेल नभएको बताएको छ। सो क्षेत्रमा रहेका अमेरिकी फौजको सुरक्षा आफ्नो उच्च प्राथमिकता भएको उसले बताएको छ।
इरानी सरकारी टेलिभिजनका अनुसार इजरेली हमलाका दौरान आवासीय क्षेत्रमा प्रहार भएको छ अनि बालबालिका पनि मारिएका छन्। तेहरानस्थित रिभोल्युशनरी गार्ड्सको मुख्यालयमा पनि प्रहार भएको उसले जनाएको छ। एकजना इजरेली सुरक्षा सूत्रले वरिष्ठ इरानी परमाणु वैज्ञानिकहरू समेत मारिएको सम्भावना रहेको बताए। (बीबीसी नेपाली)