चितवन, असार ७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् ।
दुर्घटनामा गर्भवतीसहित पाँच जना महिला र दुई पुरूषको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक मध्ये ६ जनाको सनाखत भएको छ । सनाखत भएकाहरुमा एउटै परिवारका मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल रहेको प्रहरीले जनाएको छ ।
यस्तै, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० का राजु थिङ, मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर-६ की ३१ वर्षीया सिता कुमारी छन् । एक महिलाको सनाखत हुन सकेको छैन । उनको शव जिल्ला अस्पताल भरतपुरमा छ । घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
चितवन प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको विद्युतीय सवारी साधन एक आपसमा ठोक्किएका हुन् ।