Kath Khabar
इरानका तीन परमाणु क्षेत्रमा अमेरिकी हमला

                     तेल अभिभ, असार ८ । अब अमेरिका पनि इजरायल-इरान युद्धमा हाम फालेको छ । अमेरिकी बी-२ बमवर्षक विमानहरूले इरानको आणविक स्थल फोर्डो, इस्फहान र नातान्जमा बंकर बस्टर बमले आक्रमण गरे। यस आक्रमणबाट भएको क्षतिको बारेमा इरानको राष्ट्रिय आणविक सुरक्षा प्रणाली केन्द्रबाट पहिलो वक्तव्य आएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्। ट्रम्पले ती हमलाहरू "निकै सफल" भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको "फूल पेलोड" खसालिएको समेत बताए। इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग "शत्रुको आक्रमणमा परेको" जनाएको छ।

ट्रम्पले आफ्नो सोसल मिडिया 'ट्रुथ सोसल'मा लेख्दै आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाएका छन्। कैयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको कदमको समर्थनमा प्रतिक्रिया जनाएका छन् भने केही अमेरिकी सांसदहरूले कङ्ग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन्।

हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले "इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको" बताउँदै "इरानले अब शान्ति कायम गर्नुपर्ने" बताए। "यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्," उनले भने। चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले "इजरेलका लागि यस भयानक खतरा" मेट्न "एकसाथ" काम गरेको बताए।

"त्यहाँ कि त शान्ति हुनेछ या त इरानका लागि विगत आठदिनमा हामीले देखेभन्दा निकै ठूलो त्रासदी हुनेछ," इरानलाई थप चेतावनी दिँदै ट्रम्पले भने। "याद रहोस्, धेरै निशानाहरू बाँकी छन्। आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातक समेत थियो। तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निशानाहरूमा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जानेछौँ।"

इरानी अधिकारीहरूले फोर्दो, इस्फहान र नटान्जमा अमेरिकी हमला भएको पुष्टि गरे तापनि इरानलाई ठूलो मार परेको कुरा अस्वीकार गरेका छन्। इरानी संसदका सभामुखका सल्लाहकार मेहदी मोहम्मदीले निशानामा पारिएका कुनै पनि स्थानमा कुनै पनि अपूरणीय क्षति नभएको दाबी गरे।

मोहम्मदीले केही समयअघि ती स्थलहरू खाली गराइएको जनाएका छन्। इरानको परमाणु ऊर्जा निकायले ती बम हमलाहरू अन्तर्राष्ट्रिय कानुन र खासगरी परमाणु अप्रसार सन्धिको बर्बर उल्लङ्घन भएको जनाएको छ। सो निकायले ती हमलाले इरानको परमाणु महत्त्वाकाङ्क्षालाई रोक्न नसक्ने बताएको छ।
इजरेलमा कडा सुरक्षा व्यवस्था

इजरेल इरान द्वन्द्व 
अमेरिकी हमलासँगै इजरेली सेनाले देशमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। जसमा भेलाहरूमा प्रतिबन्ध र विद्यालय तथा कार्यालयहरू बन्द गर्ने समावेश छन्।

अमेरिकी हमलाप्रति प्रतिक्रिया जनाउँदै इजरेल वासिङ्टनसँग "पूर्ण समन्वय" मा रहेको इजरेली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको कदमलाई 'साहसिक निर्णय' बताउँदै त्यसको प्रशंसा गरेका छन्। उनले एक भिडियो सन्देशमार्फत यस अमेरिकी हमलाले इतिहास बदल्ने बताएका छन्।

बी-२ विमान प्रयोग'
ती इरानी परमाणु केन्द्रहरूमा हमलाका लागि अमेरिकी लडाकु विमान बी-२ बमर प्रयोग गरिएका भनिएका विवरणहरू आएका छन्। ती ठूला जेटहरू इरानको जमिनमुनि रहेका परमाणु केन्द्रसम्म पुग्न सक्ने अस्त्र बोक्न सक्षम विमान मानिन्छन्। ती विमानले बोक्ने अस्त्र साठी मिटरसम्मको गहिराइमा विस्फोट हुनुभन्दा पहिले जमिनमुनि रहेका लक्ष्यहरू छेड्नेगरी बनाइएका छन्। (बिबिसि नेपाली)

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update