
काठमाडौं, असार १० । भिजिट भिसा प्रकरणमा गठित उच्चस्तरीय छानबिन समितिको विरोधमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन बहिष्कार गरेका छन् ।
सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । दुबै दलले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने दाबी गरे ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरिएको र त्यसको कार्यादेश सार्वजनिक गरेका थिए।
प्रतिनिधि सभा बैठकपछि बाहिरिएर रास्वपा सांसद एवं उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरण छानविन गर्न सरकारले बनाएको समिति टालटुले भएको बताएका छन् । ‘यो टालटुल समिति बनाएर फासफुस बनाउन खोजियो । यो समिति सुन पानी छर्किने, जोगाउने, चोख्याउने नियतले बनेको हुँदा रास्वपालाई स्वीकार्य छैन,’ उनले भने ।