Kath Khabar
पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

                  काठमाडौं, असार ११ । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई  विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालसँग ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  आज दिउँसो भएको बहसमा नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।

अख्तियारले काभ्रेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोप लगाउँदै जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दाका लागि उनी आज आफैँ अदालतमा हाजिर हुन गएका थिए । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update