
काठमाडौं, असार १५ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार औपचारिक रूपमा सक्रिय राजनीतिमा फर्कने घोषणा गरिन् । शनिबार मदन जयन्तीका अवसरमा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्।
भण्डारीले भनिन्, "फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो ।"
पार्टीको आगामी विधान महाधिवेशनको ठीक अगाडि आएको भण्डारीको यो घोषणाले नेकपा-एमाले भित्र नयाँ शक्ति चुनौती सिर्जना गरेको छ ।
नयाँ संविधानको व्यवस्था अनुसार दुई वर्ष मात्रै पहिलो कार्यकाल राष्ट्रपति बनेकी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पनि नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।