काठमाडौं, असार १९ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ । अमेरिकी सरकारबाट अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरिएको हो ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (MCA – Nepal) ले बुधबार एक विज्ञप्ति जारी गर्दै यस कदमलाई स्वागत गरेको छ । विज्ञप्तिमा अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए–नेपालले स्वागत गरेको उल्लेख छ । ५०० मिलियन डलरको अमेरिकी अनुदानले नेपालको विद्युत प्रसारण पूर्वाधारको स्तरोन्नति गर्ने र पूर्व-पश्चिम राजमार्गका प्रमुख खण्डहरू सुधार गर्ने लक्ष्य राखेको छ। तर यो निर्णय कुन मितिमा भयो भन्नेबारेमा एमसीए नेपालले खुलाएको छैन ।
एमसीए–नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको छ । एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको उल्लेख छ।