
वाशिंगटन, असार २२ । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका छन् । मस्कले यस पार्टीलाई “अमेरिका पार्टी” नाम दिएका छन् । उनले भनेका छन् कि यो पार्टी परम्परागत डेमोक्रेट र रिपब्लिकन पार्टीभन्दा फरक हुनेछ र सर्वसाधारण नागरिकको आवाजलाई प्राथमिकता दिनेछ।
मस्कले सोशल मिडिया प्लेटफर्म X मार्फत अमेरिका पार्टीको सुरुवातको घोषणा गर्दै लेखेका छन् - "आज अमेरिका पार्टीको गठन तपाईंलाई तपाईंको स्वतन्त्रता फिर्ता दिलाउनका लागि गरिएको हो।" राजनीतिक पार्टीको घोषणा गर्दै मस्कले अमेरिकाको राजनीतिक परिदृश्यलाई एकदलीय प्रणाली भएको बताएका छन् । "हामी लोकतन्त्रमा होइन, एक पार्टी प्रणालीमा बसिरहेका छौँ" उनले भने । एलन मस्कको यस घोषणाले अमेरिकी राजनीतिमा हलचल ल्याएको छ ।
मस्कले यो घोषणा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सार्वजनिक मतभेदपछि गरेका हुन् । कुनै समय ट्रम्पका निकै नजिकका सहयोगी तथा २०२४ को चुनावमा सबैभन्दा ठूला राजनीतिक दातामध्ये एक रहेका मस्कको ट्रम्पसँग 'वन बिग ब्यूटीफुल बिल' को विषयलाई लिएर कडा विवाद भएको थियो । मस्कले उक्त बिलको तीव्र विरोध गरेका थिए र ट्रम्प प्रशासनअन्तर्गत नवगठित सरकारी दक्षता विभाग (Doge) बाट बाहिरिएका थिए।
उनले हालै गरिएको एक सर्वेक्षणको नतिजालाई उद्धृत गर्दै भने कि सो सर्वेक्षणमा २:१ को अनुपातमा जनताले नयाँ राजनीतिक विकल्पको आवश्यकता रहेको जनाएका छन् ।