काठमाडौं, असार २९ । नेपालमा अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने भएको छ ।
आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा सात करोड मूल्य पर्ने क्यासरको औषधि हस्तान्तरण गरिएको हो । स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौँस्थित वीर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार जानकारी दिँदै क्यान्सर बिरामीहरूका लागि विदेशिनुपर्ने बाध्यता कम गर्न ३७ प्रकारका महँगा औषधि नेपालमै निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको बताए । ‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ, राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ’ पौडेलले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायहरुसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर रुपमा उपलब्ध गराउने गरी पहल गरिरहेको पनि पौडेलले बताए ।