
काठमाडौं, असार २९ । नेपा डान्स एकेडेमीले युएईको दुबईमा आयोजना हुने विश्व सुप्रेमेसी ब्याटल ग्राउन्ड (World Supremacy Battlegrounds) मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्न लागेको छ ।
आगामी जुलाई १० देखि १६ सम्म हुने ‘वर्ल्ड सुप्रेमेसी ब्याटलग्राउन्ड २०२५’ मा भाग लिन उक्त टिम दुबई पुगेका छन् । यस प्रतिष्ठित प्रतियोगितामा भारत, न्युजिल्याण्ड, अस्ट्रेलिया लगायत विश्वका थुप्रै देशहरूबाट उत्कृष्ट डान्स समूहहरूको सहभागिता रहनेछ ।
टोलीको नेतृत्व वरिष्ठ डान्स डाइरेक्टर तथा कोरियोग्राफर रोहिया महर्जनले गर्नेछन् । प्रतियोगितामा सहभागी हुने टोलीका सदस्यहरू फुर्साङ, इशानी, अलिसा, रियाना, सृष्टि, मानकी, संयम, त्रिनभ, पासाङ र फिन्जु रहेका छन् । प्रतियोगितामा प्रतिभाशाली डान्सर तथा अभिनेत्री सृष्टि महर्जनको विशेष उपस्थितिले टोलीलाई थप बलियो बनाएको छ ।
टोली दुबई प्रस्थान गर्नुअघि नेपाली कला क्षेत्र, परिवारजन तथा शुभेच्छुकहरूबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको छ । सम्पूर्ण राष्ट्रले नेपा डान्स एकेडेमीको सशक्त प्रस्तुति र उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्दै नेपालको कला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास लिएको कोरियोग्राफर रोहिया महर्जनले बताउनु भयाे ।