Kath Khabar
काठमाडौं महानगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ आवेदन

                          काठमाडौं, असार ३२ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि संस्थागत विद्यालयको कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्तिका लागि देशभरबाट १७ हजार २२९ जना विद्यार्थीले आवेदन दिएका छन् । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको थियो । 

आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा १२ हजार ३३७, व्यवस्थापन विषयमा ४ हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन् । यस तथ्यांक अनुसार विज्ञान विषयप्रति विद्यार्थीहरूको उच्च आकर्षण रहेकाे छ ।

विद्यार्थीहरूले साउन १ गते देखि अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन् । प्रवेश पत्र डाउनलोड गर्न काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट http://www.kathmandu.gov.np वा http://entrance.kathmandu.gov.np मा गएर “एडमिट कार्ड“ बटनमार्फत आवश्यक विवरण भरेर प्राप्त गर्न सकिनेछ । प्रवेश पत्रमा परीक्षा केन्द्रसम्बन्धी जानकारी पनि उल्लेख हुनेछ । 

छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ । सबै प्रश्नहरू बहुवैकल्पिक प्रकारका हुनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अंकन (नेगेटिभ मार्किङ) गरिने छैन । 

परीक्षापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ । यो छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय शिक्षाको अन्तिम तह (कक्षा ११, १२) छानेको शिक्षण संस्थाबाट प्राप्त गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update