
काठमाडौं, साउन ४ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएकाे प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४,१७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । सहभागी मध्ये १०,८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
उत्तीर्ण हुन न्यूनतम ४० अङ्क (४०%) आवश्यक थियो र ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए ।
नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइट तथा entrance.kathmandu.gov.np मा प्रकाशित गरिएको छ। विद्यार्थीहरूले आफ्नो SEE को सिम्बोल नम्बर, जन्म मिति र इमेल वा SMS मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् ।
काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयहरूमा ४ हजार भन्दा बढी छात्रवृत्ति सिटहरू उपलब्ध छन् ।