Kath Khabar
रूसमा यात्रुवाहक विमान दुर्घटना, विमानमा सवार ५० जना सबैको मृत्युको आशंका

                             काठमाडौं,  साउन ८ । रुसको अमूर क्षेत्रमा करिब ५० जना यात्रु बोकेको एंटोनोव एएन-२४ यात्रुवाहक विमान बिहीबार दुर्घटनाग्रस्त भएको छ ।

प्रारम्भिक जानकारी अनुसार विमानमा सवार ५० जना सबैको मृत्यु भएको रूसी आपतकालीन सेवा अधिकारीहरूले बताएका छन् । मृतकमध्ये ५ जना बालबालिका र ६ जना चालक दलका सदस्य रहेका छन् । विमान ब्लागोवेशचेंस्क शहरबाट टिंडा जाँदै थियो र चीनसँग सिमाना जोडिएको अमूर क्षेत्रको दुर्गम सहर टिंडामा अवतरण गर्ने क्रममा रडारबाट गायब भएको थियो ।

दुर्घटनापछि सार्वजनिक भएको एउटा भिडियोमा विमानको दुर्घटनापछि देखिएको भयावह दृश्यको अवस्था देखाइएको छ । 

विमान अंगारा एयरलाइन्सद्वारा सञ्चालित ट्विन इन्जिन एंटोनोव-२४ थियो, जुन ब्लागोवेशचेंस्क शहरबाट टिंडा शहरतर्फ जाँदै थियो, जब यो रडारबाट हराएको थियो । पछि एउटा उद्धार हेलिकप्टरले टिंडाबाट करिब १६ किलोमिटर (१० माइल) टाढाको पहाडमा विमानको जलिरहेको अवशेष देखेको हो ।

स्थानीय उद्धारकर्ताहरूका अनुसार हेलिकप्टरबाट माथिबाट हेर्दा कोही जीवित रहेको प्रमाण भेटिएको छैन । अमूर क्षेत्रको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ कि उनीहरूले उद्धारकर्मीहरू घटनास्थलतर्फ पठाइरहेका छन् । 

 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update