-1753609108.jpg)
वासिङ्टन, साउन ११ । अमेरिकाको डेनभर विमानस्थलमा मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्स विमानको ल्यान्डिङ गियरमा आगलागी भएको छ । विमानमा १७३ जना यात्रु र ६ जना क्रू सदस्य सवार थिए ।
७३७ म्याक्स ८ मोडेलको विमान टेकअफ गर्नै लाग्दा त्यसको ल्यान्डिङ गियरबाट धुँवा निस्किरहेको देखियो । त्यसपछि तुरुन्तै टेकअफ प्रक्रिया रोकियो । क्रू सदस्यहरूले इमरजेन्सी स्लाइडमार्फत १७३ जना यात्रु र ६ जना क्रू सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भए । घटनामा एक व्यक्तिलाई सामान्य चोट लागेको बताइएको छ । विमानमा आगोको लप्का देखिएपछि डेनभर दमकल विभाग र विमानस्थलको आपतकालीन टोली तत्कालै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
अमेरिकन एयरलाइन्सका अनुसार उडान सुरु हुनुभन्दा अगाडि विमानमा टायरसँग सम्बन्धित मर्मतसम्भार समस्या देखिएको थियो । यद्यपि त्यसबेला यसलाई गम्भीर मानिएको थिएन, तर धावनमार्गमा उभिएको विमानमा अचानक आगलागी हुनुले समस्या ठूलो थियो भन्ने देखाएको छ ।
घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा यात्रुहरू डराएको अवस्थामा विमानबाट स्लाइडिङ गर्दै बाहिर निस्किरहेका देखिन्छन् । यस घटनाका कारण डेनभर विमानस्थलमा केही समयका लागि रनवे बन्द गरिएको थियो, जसका कारण केही उडानहरू पनि प्रभावित भएका थिए ।