Kath Khabar
नेपालमा एमसिसी परियोजना जारी रहने दूतावासमार्फत सरकारलाई जानकारी

                                    काठमाडौं, साउन १२ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरुले निरन्तरता पाउने भएका छन् । वैदेशिक सहायता समीक्षापछि नेपालस्थित अमेरिकी दूतावासले यो निर्णयबारे नेपाल सरकारलाई जानकारी गराएको हो ।

शुक्रबार एमसीसी मुख्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘समीक्षाबाट देखिएको छ कि एमसीसीको कार्य अमेरिका पहिलो नीतिसँग मेल खान्छ । एमसिसीले अमेरिकी नागरिकहरूको सुरक्षा, समृद्धि र विश्वसनीयता बढाउन निरन्तर योगदान गरिरहनेछ ।’ 

दूतावासले जारी गरेको वक्तव्यअनुसार समीक्षाले नेपालमा एमसीसी सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ । ‘५० करोड अमेरिकी डलर बराबरको एमसीसी सम्झौता र नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण तथा सडक सञ्जालको सुधार गर्दै समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा सहयोग पुग्नेछ,’ दूतावासले भनेको छ।

५०० मिलियन अमेरिकी डलरको एमसिसी सम्झौता नेपाल सरकारसँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ। सरकारले थप १९७ मिलियन डलर योगदान गर्ने सहमति जनाएको छ, जसअनुसार परियोजनाको कुल लागत ७४७ मिलियन डलर पुगेको छ। उक्त सम्झौताले नेपालको विद्युत प्रसारण सञ्जाल र राजमार्ग विकासमा सहयोग पुर्‍याउनेछ, जसले राष्ट्रिय समृद्धि र क्षेत्रीय ऊर्जा एकीकरणलाई प्रवर्द्धन गर्नेछ।

यसअघि, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (MCA-नेपाल) ले अमेरिकी सरकारद्वारा ठूलो परिमाणको विदेशी सहायता कार्यक्रमहरू स्थगनको अवस्थामा पनि परियोजना जारी राख्न विशेष छुट दिइएको निर्णयको सराहना गरेको थियो ।

संयुक्त लगानीमा विद्युत् प्रसारण लाइन निर्माण र सडक सञ्जाल सुधारका परियोजना कार्यान्वयन भइरहेका छन्, जसले देशको पूर्वाधार विकास, समृद्धि र क्षेत्रीय ऊर्जा व्यापार प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update