Kath Khabar
८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकाे रसियाकाे कामचट्का क्षेत्र किन संवेदनशील छ ?

                      रसिया, साउन १४ । रूसको तटीय क्षेत्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । रुसको सुदूर पूर्वमा कामचट्काबाट १३६ किलोमिटर (८४ माइल) पूर्वमा भूकम्प गएको हो । शक्तिशाली भूकम्पपछि केन्द्रबिन्दु नजिकका रूसी क्षेत्रहरूमा क्षति पुगेको र मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको एजेन्सीहरूले जनाएकाे छ ।

सुरुमा चेतावनी जारी गरिएको थियो,  त्यसपछि सुनामीले प्रभाव देखाउन सुरु गरिसकेको छ । जापानदेखि लिएर अमेरिका र मेक्सिकोसम्म सुनामीको डर फैलिन थालेको छ । सुनामीले रूसको कुरिल द्वीप समूह र जापानको ठूलो उत्तरी टापु होक्काइडोको तटीय क्षेत्रहरूमा असर पुर्‍याएको छ । 

यो भूकम्पको असर रूससम्म सीमित छैन । यसको प्रभाव जापान, क्यानाडा र अमेरिकामा समेत देखिन सक्ने अनुमान गरिएको छ । यी देशहरूमा पनि सुनामीको खतरा रहेकोले, प्रशान्त महासागरसँग सम्बन्धित धेरै देशहरूमा सुनामी चेतावनी जारी गरिएको छ । यस भूकम्पपछि ४ मिटर उचाइसम्मका सुनामी लहरहरू तटीय क्षेत्रमा आइपुगेका छन् । यसले धेरै स्थानहरूमा क्षति पुर्‍याएको छ ।

यो भूकम्पलाई १९५२ पछि कामचटका क्षेत्रमा आएको सबैभन्दा ठूलो भूकम्प मानिएको छ । सन् १९५२ मा पनि ९.० म्याग्निच्युडको भूकम्प आएको थियो, जसले ठुलो विनाश गरेको थियो । याे भूकम्पमा हालसम्म ठूलो मानवीय क्षति नभए पनि, सुनामी लहरहरूको असर र पराकम्पनहरूको जोखिम अझै रहनसक्ने अधिकारीहरूले जनाएका छन् । 

कामचटका क्षेत्रमा बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट हुनेका पछाडि केही प्रमुख वैज्ञानिक कारणहरू छन् । यस क्षेत्रलाई पृथ्वीको "रिंग अफ फायर (Ring of Fire)" को हिस्सा मानिन्छ । "रिंग अफ फायर" भनेको प्रशान्त महासागरको चारैतिर फैलिएको एक भूगर्भीय क्षेत्र हो जहाँ पृथ्वीका टेक्टोनिक प्लेटहरू लगातार एक-अर्काको साथमा खिस्किरहेका हुन्छन् । यस क्षेत्रमा भूकम्प र ज्वालामुखी गतिविधि धेरै सक्रिय हुन्छ।

 किन संवेदनशील छ कामचटका ?
 कामचटका क्षेत्रमा प्रशान्त प्लेट (Pacific Plate) हरेक वर्ष करिब ८६ मिमीको दरले ओखोट्स्क प्लेटको मुनि धसिँदै जान्छ । यस्तो प्लेटहरूको धसावटको कारण "मेगाथ्रस्ट भूकम्प" उत्पन्न हुन्छन्, जुन धेरै शक्तिशाली हुन्छन् ।

यही कारणले गर्दा कामचटका क्षेत्रमा बारम्बार भूकम्प आउँछ र ज्वालामुखी विस्फोट भइरहन्छ ।  कामचटका क्षेत्रमा करिब १६० वटा ज्वालामुखीहरू छन् । तिनमध्ये २९ वटा अहिले पनि सक्रिय छन् अर्थात्, तिनीहरू कुनै पनि समय विस्फोट हुन सक्छन् । 

सक्रिय प्लेटहरूको चलायमान गतिविधि र सक्रिय ज्वालामुखीहरूको संख्याका कारण यो क्षेत्र भविष्यमा पनि ठूला प्राकृतिक प्रकोपहरूको खतरामा रहन्छ । छोटो अवधिमा धेरै शक्तिशाली भूकम्प र विस्फोट हुने सम्भावना कायम छ।

 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update