
काठमाडौं, साउन १४ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट बर्खास्त गरेको छ । पार्टीको अनुशासन समितिको निर्णयअनुसार अध्यक्षबाट हटाइएको जानकारी मंगलबार निर्वाचन आयोगमा पत्र दर्ता गरेर गराइएको छ।
पार्टीको विधान विपरीत कार्यवाहक अध्यक्ष तोकिएको, स्पष्टीकरण नदिएको लगायतका कारण देखाउँदै उनलाई अध्यक्ष पदबाट हटाइएको पार्टीले जनाएको छ। अनुशासन समितिले रामलाल डगौराको संयोजकत्वमा बैठक बोलाएर रञ्जितालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो। अनुशासन समितिको कारबाहीलाई मध्यबानेश्वरमा जारी पार्टीको राष्ट्रिय भेलाले अनुमोदन गर्नेछ।
अडियो प्रकरणमा मुछिएपछि अध्यक्ष रञ्जिताले स्वास्थ्यको कारण देखाउँदै पोखराकै शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएकी थिइन्। त्यसलगत्तै रेशम पक्षधरको बुहमत संस्थापक केन्द्रीय सदस्यको बैठकले अध्यक्ष रञ्जिताप्रति खेद प्रकट गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।