Kath Khabar
गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना महाराजगञ्ज क्षेत्रबाट पक्राउ

                                     काठमाडौं, साउन १६ । चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार मध्यराति गुन्डा नाइके चक्रे मिलनसहित गुण्डागर्दीमा संलग्न ४७ जनालाई महाराजगन्जस्थित होटल साम्बालाबाट पक्राउ गरेको हो । 

बिहीबार उनी आफ्नो जन्मदिन मनाउन साम्बालामा पुगेका थिए । उक्त सूचनाको आधारमा सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएको थियो । उनीहरूविरुद्ध रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि प्रहरीले अप्रेसन चलाएको हो । 

प्रहरीका अनुसार बिहीबार बिहानैदेखि उनीहरुको गतिविधि अराजक देखिएको र सामाजिक सञ्जालमा उच्छृखंल दृश्यहरु पोस्ट गर्ने गर्न थालेपछि प्रहरीले निगरानी बढाएको थियाे । उनले दुई दिन अघिदेखि नै जन्मदिन मनाउन थालेको र पशुपति मन्दिर वरपर सहयोग माग्न बस्नेहरुलाई पैसा बाडिरहेको भिडियो टिकटकमा भाइरल समेत भएकाे थियाे ।  

पक्राउ परेकाहरूको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरूले बताएका छन् ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update