
काठमाडौं, साउन १८ । नेपाली मिक्स्ड मार्शल आर्टस (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ फाइनल खेलमा ऐतिहासिक जित हासिल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिदै लेखेका छन् -
"भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ। पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई।"
बझाङका एमएमए फाइटर रविन्द्र धन्तले तेस्रो राउन्डमा प्राविधिक नकआउटद्वारा भारतीय प्रतिस्पर्धी चुंगरेङ 'द इन्डियन राइनो' कोरेनलाई पराजित गर्दै MFN उपाधि सुरक्षित गर्ने पहिलो नेपाली लडाकु बनेका छन् । उनले प्रतियोगिता जित्दै एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका हुन् ।
यसअघि धन्तले ब्रेभ कम्ब्याट फेडरेशन, नेपाल वारियर्स च्याम्पियनशिप, र वान च्याम्पियनशिप सहित धेरै अन्तर्राष्ट्रिय खेलहरु जितेका छन् । यो खेल बलिउड अभिनेता टाइगर श्राफ र उनको परिवारले सन् २०१९ मा स्थापना गरेको भारतको प्रमुख एमएमए प्लेटफर्म हो ।