काठमाडौं, साउन २६ । कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन् । छाेराको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन उनीहरु सोमबार बिहान ९ बजे फ्लाइ दुबईमार्फत इजरायल प्रस्थान गरेका हुन् ।
इजरायली सरकारकै पहलमा जान लागेका उनीहरुको टिकटको व्यवस्था नेपालस्थित इजरायली दूतावासले नै गरेको हो । यो भ्रमणका क्रममा उनीहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन् साथै संयुक्त राष्ट्रसंघसँग पनि भेटेर विपिनको सुरक्षित मुक्तिको लागि पहल गर्नेछन् ।
सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषयमा स्नातक गरेका विपिन, २०२३ अगस्टको अन्त्यतिर 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । उनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको बताइएको छ । जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारीबाहिर आएको छैन ।