-1755066499.jpg)
काठमाडौं, साउन २८ । नेपालका म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जालमार्फत यसबारे घोषणा गरेका हुन् । यो निर्णय हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकमा गरिएको हो । सरकारले यो ऐतिहासिक उपलब्धिलाई सम्मान तथा प्रोत्साहन गर्न यो निर्णय गरेको हो ।
यसका साथै सरकारले ढाँटका प्रशिक्षकलाई पनि कदरस्वरूप २ लाख रुपैयाँ दिइने भएको छ । ढाँटले नेपालले पहिलो पटक एमएफएन उपाधि दिलाउन सफल भएका हुन् । यसअघि, काठमाडौं महानगरले पनि मंगलबार ढाँटलाई दुईलाख नगदसहित सम्मान गरेको थियो ।
गत साउन १७ गते भारतमा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बनेका थिए ।