Kath Khabar
कस्ताे छ विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ !

                          काठमाडौं, साउन २८ । लोकप्रिय लोक गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ ।

यो गीत ‘पुतलीको भट्टी’ को सिरिजअनुसार भाग २१ का रूपमा बजारमा आएको हो । हरेक वर्ष तीजको पूर्वसन्ध्यामा विष्णु माझीका प्रशंसकहरू उनको गीतको प्रतीक्षामा रहन्छन् । यसपटक पनि उनले आफ्नो मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् । 

बुधबार बिहान युट्युबमार्फत सार्वजनिक भएको यस गीतको भिडियोमा मोडल ललिता पौडेलसहित बाल कलाकार प्रविधि भण्डारी, विज्ञान भण्डारी र अक्षयत हिमालीको अभिनय रहेको छ । ललिता पौडेल प्रायः विष्णु माझीकै गीतमा मात्रै देखिने गरेकी छन् । विष्णु माझीको गीत 'चरी जेलैमा' बाट धेरैको नजरमा परेकी ललिता किन सधै विष्णु माझीकै गीतमा मात्र देखिन्छिन्, यो सबै दर्शकहरुको चासोको विषय बनेको छ ।

गीतका शब्द, संगीत र निर्देशन सुन्दरमणि अधिकारीले गरेका हुन् । सदा झै यसपाली पनि उनले तिज गीतमा छोरीको बेदनाकै विषयवस्तु समाएका छन् ।  गीतको भिडियोमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै विदाई भएको क्षण र उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ। 

मौसम हिमालीको कोरियोग्राफी रहेको यस गीतमा आशिष अविरलको मिक्सिङ र संगीत संयोजन रहेको छ । गीतको भिडियो सपना म्युजिक इन्ड्रस्टिजबाट सार्वजनिक गरिएको हो ।

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update