
काठमाडौं, भदौ १ । नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आइतबार काठमाडौंआएका मिश्रीले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नजिकको छिमेकी र साझेदारको रूपमा भारतको प्रगतिबाट थप लाभ हासिल गरेको अझ बढी लाभान्वीत हुन चाहेको कुरा प्रकाश पारे । नेपालले सधैं भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।
विदेश सचिव मिश्रीले आफ्नो तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अन्तर्गत नेपालले उच्च महत्वको स्थान ओगटेको बताए । उनले आफ्नो भ्रमणले आधुनिक युगमा कनेक्टिभिटी विस्तार गर्ने, साथै पारस्परिक हित र चासोका विषयहरूमा सम्बन्धित नेपाली अधिकारीहरूसँग छलफल गर्ने अवसर प्रदान गरेको पनि उल्लेख गरे ।
यस्तै, विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरुसँग नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ ।