Kath Khabar
प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान

                 काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा पाँच दिने चीन भ्रमणको लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिकाशाक्य, पूर्व उपप्रधानमन्त्री तथा सांसद पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री तथा सांसद छबिलाल विश्वकर्मा सहितका वरिष्ठ सरकारी अधिकारीहरु प्रतिनिधिमण्डलमा सहभागी छन्।

चीनमा उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् ।

त्यसक्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नेछन् भने १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् । त्यसक्रममा उनले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन सहित विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा पाँचदिने आफ्नो औपचारिक भ्रमणबारे जानकारी दिएका थिए। यो भ्रमण भदौ १९ गते सम्म रहनेछ।

 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update