
काठमाडौं, भदौ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आगामी कात्तिक १७ गते हुने रुपन्देही-३ उपनिर्वाचनका लागि आज आफ्नो उम्मेदवार टुंगो लगाउँदैछ । रास्वपाले प्राइमरी इलेक्सनमार्फत् रूपन्देही ३ को उम्मेदवार छनोट गरेको छ । त्यसको अनुमोदन गर्न दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ ।
बैठकका लागि नौ जना उम्मेदवार बिहान ११:०० बजे नख्खु कारागार जाने कार्यक्रम छ । लामिछानेलाई भेटेपछि दिउँसो १:३० बजे पार्टी कार्यालयमा सचिवालय बैठक बसेर नौ जना आकांक्षीमध्येबाट औपचारिक रूपमा एक जना उम्मेदवार छनोट गर्नेछ । यसकाे जानकारी रास्वपाले पत्रकार सम्मेलन गरेर दिने भएकाे छ ।
उम्मेदवार छनोटका लागि रास्वपाको निर्वाचन आयोगले साउन ७ देखि २१ गतेसम्मको समय तोकेर आवेदन आह्वान गरेको थियो । आवेदन दिएकामध्ये रास्वपाले प्रारम्भिक सूचीका रूपमा साउन २२ गते ९ जनाको नाम सार्वजनिक गरेको थियो।
उम्मेदवार छनोटमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रूपन्देही-३ क्षेत्रीय अध्यक्ष मधु अर्याल, हालै अमेरिकाबाट फर्किएका बुटवलका सुलभ खरेल, पार्थिवेंद्र उपाध्याय, डा. लेखाजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् ।
रुपन्देहीबाट निर्वाचित सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रास्वपाका नेता दीपक बोहोराको निधनपछि सो क्षेत्र रिक्त भएको थियो । जसका लागि निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ ।