
अफगानिस्तान, भदौ १६ । अफगानिस्तानमा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८०० पुगेको छ । पाकिस्तानसँगको सीमानजिकै पूर्वी अफगानिस्तानमा आइतबार मध्यरात आएको शक्तिशाली भूकम्पले चारैतिर ठूलो विनाश मच्चाएको छ । आइतबार मध्यरातमा ११:४७ मा ६ म्याग्निच्युडको भूकम्प गएको थियो । यसमा हालसम्म ८०० जनाको मृत्यु भएको छ भने २८०० भन्दा बढी घाइते भएका छन् ।
भूकम्पको समयमा धेरैजसो मानिसहरू सुतिरहेका कारण उनीहरू भवनहरूको भग्नावशेषमुनि पुरिएका थिए । कुनार प्रान्तका पूरै गाउँहरू ध्वस्त भएका छन् । भूस्खलन र दुर्गम भौगोलिक कारणले उद्धार कठिन बनेको छ । रातभर शहरमा भूकम्पको धक्का महसुस गरिएको थियो । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । उक्त क्षेत्रमा सैनिक टोली र हेलिकप्टरमार्फत उद्धार कार्य भइरहेको छ । करिब ४० वटा उडानमार्फत ४०० भन्दा बढी पीडितलाई अस्पताल पुर्याइएको छ ।
यसअघि, २०२३ अक्टोबर ७ मा अफगानिस्तानमा विनाशकारी भूकम्प गएको थियो । तालिबान सरकारले उक्त भूकम्पमा करिब ४ हजार जनाको मृत्यु भएको दाबी गरेको थियो भने संयुक्त राष्ट्रसंघले करिब १५०० जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
त्यस्तै, २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ तीव्रताको भूकम्प गएको थियो, जसमा करिब १ हजार मानिसको मृत्यु भएको थियो र हजारौं घाइते भएका थिए । अफगानिस्तानमा शक्तिशाली भूकम्पहरूको लामो इतिहास रहेको छ । भूकम्पीय दृष्टिले हिन्दुकुश पर्वतशृंखला सक्रिय मानिन्छ, जहाँ प्रायः हरेक वर्ष भूकम्प आउने गर्छ।
भूकम्पपछि तालिबान सरकारले तत्काल सहयोगका लागि अपिल गरेको छ । चीनले सहयोग गर्ने संकेत दिएको छ भने संयुक्त राष्ट्रसंघले उद्धार टोली परिचालन गरेको छ ।