
काठमाडौं, भदौ १९ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै बिहान र बेलुकी प्रेसर कुकरमा सिट्ठी नलगाउन, शौचालयमा फ्लस गर्दा समेत ध्वनि कम गर्ने उपाय अपनाउन अनुरोध गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै पाँच वटा बुँदा र त्यसका उपबुँदाहरू राखेर विभिन्न प्रकारका अनुरोध गरेको हो। जसअनुसार काठमाडौं उपत्यकावासीलाई राति र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाई खाना पकाउन, बिहान नित्यकर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने नगर्न, मोटरसाइकल वा अन्य सवारीसाधन बिहानै स्टार्ट गर्दा ठूलो आवाज ननिकाल्न आग्रह गरेको छ।
यस्तै, राति अबेरसम्म ठूलो स्वरमा गफ नगर्न, फोन कल गर्दा आवाज कम गर्न वा हेडफोन प्रयोग गर्न, भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगर्न, ढोका ढकढक्याउने वा बेल बजाउने सट्टा आवश्यक परे फोनमार्फत ढोका खोलाउन आग्रह गरिएको छ ।