Kath Khabar
जेनजी प्रदर्शन : अहिलेसम्म १९ जनाको मृत्यु, ३४७ जना घाइते

                    काठमाडौं, भदौ २२ । जेनजी पुस्ताको आज भएको प्रदर्शनका क्रममा अहिलेसम्म देशभर १९ जनाको मृत्यु भएको छ भने हालसम्म तीन सय ४७ जना घाइते भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने १०० जनाको उपचार भइरहेको छ । वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ । उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ ।

बानेश्वरस्थित एभरेष्ट अस्पतालमा तीन जनाको मृत्यु भइसकेको र घाइतेहरु उपचारत रहेको मन्त्रालयले जनाएको छ भने आठ जनालाई अन्यत्र रिफर गरिएको छ ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ३७ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update