Kath Khabar
सेनाद्धारा काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूबाट लुटपाट गर्ने २६ जना व्यक्तिहरु पक्राउ

                    काठमाडौं, भदौ  २५ ।  देशभर फैलँदै गइरहेको अराजक वातावरण र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाली सेनाले बुधबारदेखि विशेष सुरक्षा प्रक्रिया लागू गरेको छ । सेनाले समुदायलाई सक्रिय सहकार्य गर्न आह्वान गर्दै, लुटपाट, आगजनी र विध्वंसकारी गतिविधि नियन्त्रणका लागि व्यापक परिचालन गरेको छ।

नेपाली सेनाले देशमा हाल देखिएको सुरक्षा चुनौती र अराजक वातावरणलाई ध्यानमा राख्दै मंगलबार साँझ १० बजेदेखि राष्ट्रव्यापी सुरक्षा अपरेशनको कमान्ड सम्हाल्ने घोषणा गरेको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको छ।

नेपाली सेनाको ताजा अपडेटअनुसार काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउ परेका छन्। तीमध्ये २१ जनालाई राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात, बौद्धलगायत क्षेत्रका लुटपाट घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिइएको छ। त्यस्तै नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update