
काठमाडौं, भदौ २७ । नेपाली सेनाले काठमाडौं उपत्यकामा कर्फ्यूको समयमा खुकुलो पारेको छ । सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा र कर्फ्यूको समय थोरै घटाएको हो ।
बिहीबार राति सेनाले जारी गरेको सूचना अनुसार शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि सर्वसाधारणलाई सीमित आवतजावत गर्न अनुमति दिइनेछ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म भने कफ्र्यु आदेश जारी रहने छ ।
कर्फ्यूको समयमा केही खुकुलो पारिए पनि निषेधाज्ञा र कर्फ्यू अवधिमा विरोध प्रदर्शन, धर्ना र जुलुस जस्ता गतिविधिहरू पूर्ण रूपमा निषेधित रहनेछन् ।
निषेधाज्ञा र कर्फ्यू समयमा एम्बुलेन्स, शववाहन सवारी साधन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, औषधि र दूरसञ्चार उपकरणहरू ढुवानी गर्ने सवारी साधन लगायत अत्यावश्यक सेवाहरू सञ्चालन गर्न अनुमति दिइनेछ ।
विभिन्न सरकारी कार्यालय, मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तिय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचयपत्र देखाइ कार्यालयसम्म आवतजावत गर्न सक्नेछन्।