
काठमाडौं, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन् ।
राष्ट्रपति कार्यालयबाट शुक्रबार राति सार्वजनिक गरिएको विज्ञप्ति अनुसार भदौ २७ गते राति ११ बजेदेखि प्रतिनिधिसभा विघटनको निर्णय लागू भएको छ ।
शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गर्नु भएको छ । उक्त निर्णय २०८२ साल भदौ २७ गते शुक्रबार राति ११:०० बजेदेखि लागू हुनेछ ।”
यस्तै, नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी २०८२ साल फागुन २१ गते बिहीबारका दिन हुनेगरी मिति तोकिएको छ । संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।