Kath Khabar
सुशीला कार्की नेतृत्वको क्याविनेटमा सहभागी हुन अस्वीकार गरे डा. सन्दुक रुइतले

                            काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग भेटेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर सरकारमा उनको संलग्नताको सम्भावनाबारे छलफल गरेकी छन् ।

भेटघाटको क्रममा, प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्नुपर्ने विशेष परिस्थितिलाई ध्यानमा राख्दै डा. रुइत जस्ता प्रतिष्ठित व्यक्तित्वहरूको समर्थनलाई महत्व दिएको र सरकारी मामिलामा उनको सहभागिताको लागि अनुरोध गरेकाे बताए । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रूइतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको क्याविनेटमा सहभागी हुन अस्वीकार गरेका छन् । 

सञ्चारकर्मीहरुको ‘सन्दुक रुइतज्यू क्याविनेटमा आउँदै हो ? भन्ने प्रश्नमा उनले भनेका छन्– ‘यहाँ छोडेर आउने ? यत्रो छ काम, यहाँ छोडेर आउने ? विरामीलाई छोडेर आउँदिनँ ।’ रुइतले आवश्यक परेमा सरकारलाई सल्लाह र सहयोग प्रदान गर्न आफू इच्छुक भएकाे, सरकारी अधिकारीको रूपमा प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने बताए ।  

उनले अस्पतालको कर्तव्य र बिरामी हेरचाहप्रति आफ्नो प्रतिबद्धतामा जोड दिँदै आफ्नो चिकित्सा कार्य मार्फत जनताको सेवा गरिरहने आफ्नो साेच रहेको उल्लेख गरे ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update