-1758178260.jpg)
काठमाडौं, असोज २ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुँदैछ ।
प्रधानमन्त्री कार्यालयका स्रोतहरूका अनुसार, कार्कीको नियुक्तिपछि दुई नेताले द्विपक्षीय सम्बन्ध र विचार आदानप्रदानका लागि फोन गर्ने कार्यक्रम तय गरेका छन् । सुरुमा मंगलबारका लागि फोन वार्ता गर्ने योजना भएपनि अन्तिममा स्थगित गरिएको थियो ।
यसै हप्ताको सुरुमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मोदीको बधाई सन्देश पुर्याउन प्रधानमन्त्री कार्कीलाई सिंहदरबारस्थित उनको कार्यालयमा भेटेका थिए ।
कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिइसकेका छन् । मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा सुशीला कार्की नेतृत्वको सरकार बन्नु महिला सशक्तीकरणको उदाहरण भएको समेत बताएका थिए ।