Kath Khabar
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

                     काठमाडौं, असोज ३ । आज संविधान दिवस, जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । प्रधानमन्त्री सुशीला कार्कीले समारोहलाई सम्बोधन गर्नेछिन् । हरेक साल हुँदै आएको झाँकी कार्यक्रम भने अहिलेको विशेष राजनीतिक परिस्थितिका कारण स्थगन भएका छन् ।

नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् । दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा  पनि दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update