
काठमाडौं, असोज ४ । इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ, जसमा नेपालका विपिन जोशी पनि रहेका छन् । हमासको सशस्त्र शाखाले एक नेपाली नागरिक बिपिन जोशी सहित ४७ इजरायली बन्धकहरूको 'विदाई तस्वीर' जारी गरेको एएफपीले रिपोर्ट गरेको छ।
अलजजिरा टेलिभिजनका अनुसार अनलाइन राखिएको उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीका अनुहार राखिएका छन् । ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जीवितै रहेका छन् तर कसको मृत्यु भएको र को जीवित भन्ने चाहिँ खुलेको छैन ।
यद्यपि, इजरायली अधिकारीहरूले करिब २० जना बन्दीहरू अझै पनि गाजामा जिउँदै राखिएको विश्वास व्यक्त गरेका छन् । उक्त तस्बिरभित्र हरेक अनुहारमुनि 'रोन अराद' भन्ने क्याप्सन लेखिएको छ, जुन इजरायली वायुसेनाका क्याप्टेन रोन अरादको सन्दर्भमा हो, जो १९८६ मा लेबनानमा बेपत्ता भएका थिए । अरादको मृत्यु भएको विश्वास गरिए पनि उनको अवस्थाबारे पक्का प्रमाण अझै उपलब्ध छैन ।
हमासले सार्वजनिक गरेको तस्बिरसँगै लेखिएको छ, नेतन्याहूको अस्वीकृति र जामिर (इजरायली सेनाप्रमुख) को हठका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुँदै गर्दा एक बिदाइ तस्वीर ।” त्यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा भएको नरसंहारकारी युद्ध अन्त्य गर्न हमाससँग सम्झौता गर्न गरेको अस्वीकार तथा इजरायली सेनाप्रमुख एयाल जामिरको नेतृत्वमा भइरहेको स्थल तथा हवाई आक्रमणतर्फ संकेत गरेको अलजजिराको भनाइ छ।