
काठमाडौं, असोज ५ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।
मन्त्रिपरिषद् विस्तारलाई तीव्र पार्दै प्रधानमन्त्री कार्कीले पुनलाई विज्ञान तथा प्रविधि मन्त्री नियुक्त गर्ने तयारी गरिरहेकी छिन् । प्रधानमन्त्रीसँगको छलफलपछि पुनले यो भूमिका निर्वाह गर्न इच्छुकता व्यक्त गरेका छन् । तर, उनले स्पष्ट जवाफ भने दिएका छैनन् । ग्रामीण नेपालमा पहिलोपटक ताररहित इन्टरनेट सेवा सञ्चालन गरेका महावीर पुन रोमन म्यागासेसे पुरस्कार विजेता हुन् । उनी हाल राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनपछि जेन-जीको राेजाइमा कार्की प्रधानमन्त्री भएकी हुन् । हाल, प्रधानमन्त्री कार्की सहित चार सदस्यीय मन्त्रिपरिषद् मात्र सञ्चालनमा छ, जसमा पूर्ण परिषद् पूरा गर्ने प्रयास भइरहेको छ ।कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी छन् । मन्त्रिपरिषद विस्तारमा हाल महावीर पुन सहित सन्दुक रूइत, भगवान काेइराला, क्याप्टेन विजय लामा र सञ्चारकर्मी जगदीश खरेल चर्चामा रहेका छन् ।