
काठमाडौं, असोज १२ । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।
आयोगले आइतबार साँझ पत्र सार्वजनिक गर्दै उनीहरूको राहदानी (पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको हो । तर सिफारिसमा राहदानी रोक्का भन्ने शब्द प्रयोग नभई विदेश भ्रमणमा रोक लगाउनु भनेको छ ।
पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।
आयोगले उनीहरूलाई स्वीकृती बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनेको छ । छानविन र जाँचबुझको सिलसिलामा उनीहरू अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले यस्तो सिफारिस गरेको हो । जाँचबुझ आयोगले जेन–जी आन्दोलन दमनमा तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक सहित प्रमुख जिल्ला अधिकारी रिजालको पनि भूमिका हुनसक्ने देखिएको अनि उनीहरुको पासपोर्ट यथावत राख्दा विदेशतिर लाग्ने जोखिम हुनसक्ने भन्दै पासपोर्ट रोक्काको सिफारिस गरेको हो ।