काठमाडौं, असोज १८ । प्रधानमन्त्री सुशीला कार्कीले देशभर भइरहेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको अवस्थामा सबै नागरिकहरूलाई सतर्क रहन र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेकी छिन् ।
प्रधानमन्त्रीले शनिबार देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै आवश्यक सहयोग लिनका लागि अप्ठेरो नमान्न आग्रह गरेकी छिन् । उनले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा सरकारको सर्वोपरि चिन्ता रहेको बताइन् ।
प्रधानमन्त्रीले भनिन्, “कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो । आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस् । हामी तपाईंहरूको कठिनाई बुझ्छौं - तपाईं यसमा एक्लो हुनुहुन्न, राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।”
प्रधानमन्त्री कार्कीले सक्रिय विपद् व्यवस्थापनप्रति सरकारको प्रतिबद्धतालाई प्रकाश पार्दै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य निकायहरू आपतकालीन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा रहेको बताइन्।
‘हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ। सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन्। राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेकाले जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्’, उनले भनिन्।